नारीवादी हुन नसकेकी देवयानी
दशवर्षपछि मैले श्रीमतीसँग हलमा फिलिम हेर्ने मौका पाएँ । हेर्ने कुनै पूर्वयोजना थिएन । केयुको तालाबन्दीको फुर्सदमा जोइपोइ बनेपा बजार घुम्ने शिलशिलामा मयुर हल नजिकै पुगियो । सञ्जोगले फिलिम शुरू हुन लागेको समय पर्यो । हेर्ने सल्लाह मिल्यो । काउन्टरमा भिडभाड पनि थिएन । भित्र पसियो । पस्दा बाल्कोनी लगभग खाली नै थियो । धुलाम्मे कुर्सीमा बसिसक्दा नामसाम दिएर फिलिम शुरू भइसकेको थियो । फिलिम थियो देवयानी ।
केटाकेटीहरूलाई मार्शल आर्ट सिकाएको दृश्यसँगै फिलिम शुरू हुन्छ । एकैछिनमा एउटी बच्ची तरुनी भएर बलिष्ठ खेलाडीका रूपमा प्रस्तुत गरिन्छे । उसले एउटा भुसतिघ्रे युवकलाई ढालिसकेपछि गुरुचाहिँले उदघोष गर्छ, “अब तिमी कुनै पुरुषभन्दा कमजोर छैनौ । आइ एम प्राउड अफ यु, देवयानी”।
मलाई एउटा प्रश्नले कुत्कुत्याइहाल्यो, र श्रीमतीलाई खुसुक्क सोधेँ, “महिलाले पुरुषसरह बन्नलाई कराँटे नै सिक्नुपर्छ भन्न खोज्या हो?” मलाई लाग्यो अब यो हिरोनीका हातबाट कति भुसतिघ्रेले कुटाइ खाने भए । एकछिनपछि एक प्रसंगमा हिरोनीले भन्छे, “म नेपालका सबै नारीहरू मजस्तै बलिया हुन् भन्ने चाहन्छु”। फेरि ठानेँ यो त कराँटे गुरू पो हुने रैछे । नारी उत्थानको नारामा आधारित नयाँ सोचको चलचित्र हेर्न पाइएछ ।
फिलिम त्यसै उसै सकियो । दशवर्षछि जोइपोइले सँगै सिनेमा हेर्ने मौका मिलेको । सिनेमाभन्दा पनि मौका नै ठूलो थियो । टेलिभिजनमा कलाकारहरूले “नेपाली सिनेमा हेरिदिनुस्, हाम्लाई माया गरिदिनुस्, हलमा गइदिनुस्” भनेको पनि याद आयो । ठिकै छ आज राम्रै काम भएछ जस्तो लाग्यो । कलाकारका लागि नभए मयुर हलका लागि पनि राम्रो भयो । आक्कल-झुक्कल मान्छे नछिरे सिनेमा हलहरू भएको के काम नि ।
रिलिज हुनेबित्तिकै सिनेमा हेरेपछि जस्तै भए पनि छाप छोड्दो रहेछ । समालोचाना आफ्नो पेशाधर्म भएकाले कुनै कृतिका बारेमा प्याट्ट बोलिहाल्न साइत हेरिन्न । मौका पर्दा लेखिहालिन्छ पनि । हलबाट फर्केपछि मनमा उठेका प्रश्नहरू प्रस्तुत गर्ने काममात्र अहिले गरिरहेको छु । पूरा सिनेमाको समीक्षा गर्ने उद्देश्य मेरो होइन ।
एउटी नारीले आत्मरक्षा गर्न सक्षम हुनुपर्छ, पुरुषप्रधान समाजसँग लड्नुपर्छ अनि अरू नारीहरूलाई पनि आफूजस्तै बन्न सिकाउनुपर्छ भन्ने सन्देश दिन खोजेको देवयानीको नारीवादी दर्शन चलचित्र शुरू भएको आधाघण्टा नबित्दै कमजोर हुन्छ भने हुन्छ । कराँटेको तालीम हिरोइनलाई दिने, गुण्डाहरू कुट्न हिरोलाई लगाउने, नारी उत्थानको सन्देश दिन खोजेजस्तो गर्ने तर नारीपात्रलाई व्यक्तिगत र पारिवारिक घेरोभन्दा बाहिर ल्याएर निमुखा नारीहरूको सशक्तिकरणमा नलगाउने जस्ता सानातिना भूलहरू त सामान्य दर्शकले पचाउँछन् । तर प्रमुख पात्र देवयानीलाई निमुखो पुरुषमाथि मनपरी गर्ने घमण्डी आईमाई र सन्तानको लालनपालनमा वास्ता नगर्ने असफल आमाको रूपमा प्रस्तुत गरेर यो फिलिमले आफैँमाथि अन्याय गरेको मेरो ठहर छ । गाउँबाट सहर पसेको गरीब दिवाकर (दिलिप रायमाझी) लाई पहिले ड्राइभर र पछि लोग्ने बनाएर कज्याउनुलाई नै पुरुषप्रधान समाजप्रतिको जित मान्ने ? अनि दुर्घटनाबाट कुँजिएको बाबुलाई देवयानीको शरणमा देखाएको आमाप्रति भएको अन्यायको प्रतिशोध हो भनेर स्वीकार गर्ने ?
फिलिममा देव (निखिल उप्रेती) लाई ल्याइएको किन हो ? उनले कुन दर्शन र सन्देशको प्रतिनिधित्व गर्छन् भन्न गाह्रो छ । उनको गुस्सा र घुस्सा हेरेर रमाउने उमेर समूहको आत्मसन्तुष्टिको लागि उनलाई कराउन र उफ्रन लगाइएको हो भने फिलिम केही हदसम्म सफल छ । देवयानी प्रतिको एकोहोरो प्रेममा हदभन्दा धेरै पागल बनाई उसका शत्रु मराएर, जेल पठाएर, एउटा राजबन्दीको संगतमा देशभक्तिको सपना देख्ने बनाएर, र जेल तोडेर भगाएर कायम गरिएको निखिल उप्रेतीको वहुआयामिक उपश्थितिले फिलिमको समयचाहिँ धेरै खाएको छ तर अन्तर्निहित नारीवादी कथाभित्र देव कतै छिरेको लाग्दैन । देशरक्षाको अभियानमा हिँड्यो है भनेको महापुरुष घमण्डी देवयानीको पारिवारिक किचलोमा अल्झिन्छ, वेफ्वाँकमा अर्को नायकसँग मारपिट गर्छ र हिन्दी फिलिमको स्टाइलमा देवयानीको भाँडिन लागेको परिवारलाई मिलाएर बाटो लाग्छ । यसरी नायक भनेर उभ्याइएको पुरुषले आफ्नो नायकी ठिक ठाउँमा देखाएको पाइँदैन । नारीवादको नारा बच्चाको लागि लोग्ने र स्वास्नी बिच हुनुपर्ने कम्प्रोमाइजको अधुरो सन्देश दिएर टुङ्गिएको पाइन्छ ।
चलचित्रको नयाँ लाग्न सक्ने पक्षचाहिँ “रोल रिभर्सल” को कथा हो । पुरुषले आफ्नो यौनासक्ति पूरा गर्न नारीलाई प्रयोग गर्नसक्छ भने नारीले पनि पुरुषलाई त्यसरी नै खेलाउन सक्छे भन्ने सन्देश धेरैलाई मन पर्नसक्छ । केटीको घरमा केटा बेहुलो भएर भित्रिन सक्छ र श्रीमतीको भुमिकामा रहनसक्छ भन्ने तर्क पनि लगभग नयाँ नै हो । तर नारी सशक्तिकरणको एउटामात्र कसी यस्तो रिभर्सल नै हो भन्न खोजिएको हो भने धेरैलाई पाच्य नहोला । पुरुषका खराबीहरूलाई नारीले अंगालेर पुरुषलाई दबाउने शक्तिका रुपमा प्रयोग गरेमा पुरुषप्रधान सोच बदलिन्छ भन्नु ठिक होइन । नारीमा नारीका सबै असल गुणहरू बिकसित गरी तिनलाई पुरुषका राम्रा गुणहरूले बल दिएर समाज परिवर्तनको दिशामा लगाउनु पर्छ भन्ने सन्देश दिन सकेको भए चलचित्र धेरै राम्रो बन्थ्यो । चलचित्र नजानिँदो चालले पुरुषवादी नै हुन पुगेको छ । समस्याको कारण नारी, तर समाधानको चाहिँ पुरुष बनाइएको छ । नारीका असल पक्षहरू पुरुषलाई (जस्तै मातृत्वको जिम्मा दिवाकरलाई) दिएर पुरुषलाई आदर्श पिताको रूपमा, पुरुषका खराब बानीहरू नारीलाई (जस्तै देवयानीमा भएको रक्सी र चुरोटको अम्मल र कामासक्ति) दिएर असफल आमाको रुपमा प्रस्तुत गरेर रोल रिभर्सलको तर्कलाई कमजोर पारिएको देखिन्छ ।
जे होस् एकदुईटा छिद्रहरू टाल्न र एकदुईटा भद्दा दृष्यहरू फाल्न सकेको भए फिलिम केही हप्ता चल्थ्यो । जस्तै भए पनि नेपालीका छोराछोरीले बनाएको एउटा सिनेमा हलमै गएर हेरियो । खुसी लागिरहेको छ । के थाहा अर्को चोटि हलमा छिर्दा हजुरबाउ भइसकिएला । त्यतिबेलासम्म हलहरूचाहिँ रहलान् नरहलान् फिलिम बनाउनेहरूले नै जानून ।
सर, यो समिक्षाको अन्तिम दुई हरफ मलाई विशेष मन पर्यो । “नारी सशक्तिकरणको एउटा कसी यस्तो रिभर्सल नै हो भन्न खोजिएको हो भने धेरैलाई पाच्य नहोला । पुरुषका खराबीहरूलाई नारीले अंगालेर पुरुषलाई दबाउने शक्तिका रुपमा प्रयोग गरेमा पुरुषप्रधान सोच बदलिन्छ भन्नु ठिक होइन” यी वाक्य अहिले गलत अर्थमा जुर्मुराइरहेको फेमिनिजम् लाई मज्जाले लात हान्छन्, जुन हजुरले सान्दर्भिकरुपमा लेख्नु भएको छ । यो समिक्षा पूरै फिल्मको समिक्षाभन्दा पनि यसको कथावस्तुको समिक्षा भएको छ । आई रियल्ली इन्जवाएड रिडिङ इट् ।।
Comment by Rajan Kathet — November 29, 2011 @ 12:47 pm |
राजन, यो पूरा सिनेमाको समीक्षा होइन । समीक्षा गर्ने उद्देश्य पनि होइन । आफूलाई खट्केका पक्षहरूलाई बोलचालको लवजमा प्रस्तुत गर्न खोजेको हुँ । जे होस् रमाइलो मानेछौ, खुसी लाग्यो ।
Comment by kaflehem — November 29, 2011 @ 2:31 pm |
सरको बुझाईले मलाई जहिले पनि प्रभाबित पारेको छ । यसै बिषयमा केही भन्न मन लाग्यो।
पहिले त फिल्म छान्न चुक्नु भयो कि भन्ने लागेको छ ।
नारीवादको लिसो लगाएर,’नेपाली माटो,नेपालीपन’ बोकेको चलचित्र भन्दै ढोङ गर्ने कैयन चलचित्रकर्मीहरुको यथार्थ त सर्वबिदितै छ । तापनी माया भएरै अब सिनेमा हलमा नेपाली फिल्म बाहेक अरु हेरिन्न भनेर साथीहरु माझ गफ पनि निकै लडाइयो । अहिलेसम्म त्यही गरिराको छु पनि । यसै सन्दर्भमा,भर्खरै स्व-गोपलप्रसाद रिमालको ‘मसान’लाई ठुलो पर्दामा हेर्ने अवसर मिलेको थियो । केही हदसम्म सफल तर त्यती सन्तुष्ट भने हुन सकिन । जे होस् पछिल्ला समयमा पक्कै पनि केही यस्ता चलचित्र आएका छन् जसले सरलाई हजुरबुवा हुनु अघि फेरि सिनेमा हलभित्र छिर्न वाध्य बनाउलान् ।
Comment by Shashi Raj Pandey — November 29, 2011 @ 4:42 pm |
रमाइलो लाग्यो पढ्न सर । “रोल रिभर्सल” को बारे वर्णन मलाई धेरै मन पर्यो ।
Comment by sul4bh — November 29, 2011 @ 6:25 pm |
“त्यतिबेलासम्म हलहरूचाहिँ रहलान् नरहलान् फिलिम बनाउनेहरूले जानून ।” नेपाली व्यवसायिक चलचित्र हेर्नुभएको भनेपछि यहि आशयको लाइन पक्कै आउँछ भन्ने सोच्दै थिएँ ।
नेपाली चलचित्र थाहा पाउँदादेखि अहिलेसम्मका लगभग उस्तै नै छन् । ती नै धेरै राम्रा लाग्थे पहिला, अहिले हेरिनसक्नु लाग्छन् । हाम्रो सोचाइ परिमार्जित हुँदै गयो, हामी छिप्पिदै गयौँ, हाम्रो मगज फस्टाउँदै गयो, तर चलचित्र क्षेत्रमा अनुहार मात्र फेरिए ।
Comment by Prabesh — November 29, 2011 @ 8:21 pm |
may be the cinema house would not be in motion in the days to come but we are here to have either radical or symmetrical change in forthcoming days so we are here to struggle as its our duty and event its our time……. isn’t it sir? i think why the media expose the women as a feeble and weak character even there they are shown courageous in the initial stage but the same after some intervals………………. i think the way the media expose the women make them weak so what we need is the change in the mechanism………. which is our responsibility ………………..
Comment by Nirmal Khatri — January 31, 2012 @ 10:31 am |