उमेर दुईकोरी पुग्न लाग्दा अनेक कुरा देखिसकियो। जीवनमा धेर-थोर उतार-चढावहरू आए। साथी बनाइयो, गुमाइयो। देखियो कतिको उत्थान भयो, कतिको पतन। धेरैजसो उतार-चढाव उत्थान-पतनका परिवेश र कारण थाहा पाइयो। धेरै खालका मान्छेहरूसँग हेलमेल भयो। तर सबैप्रति पूर्ण सहानुभुति र सदभाव रह्यो। मलाई लागिरहन्छ प्रत्येक मानिस, प्रत्येक सहयात्री वा सहकर्मी कुनै न कुनै रूपले तल परेको हुन्छ, पिडीत हुन्छ। कोही ब्यक्तिप्रति कुनै प्रकारको द्वेष वा पूर्वाग्रह राख्नु आफ्नै दु:ख र पिडाहरूको समुचित अनुभव र मूल्याङ्कन गर्न नसक्नुसरह हो भन्ने मेरो धारणा रहेको छ।
तर म सबै मानिसलाई एउटै नजरले हेर्न सक्दिन। यो सुन्दा व्यक्तिवादी लागे पनि नितान्त वस्तुवादी मूल्याङ्कन हो। निस्पक्ष आँखाले हेर्दा मानिसहरूका बारेमा मनन गर्नै पर्ने धेरै पक्षहरू देखिन्छन्। परिचित मानिसहरूका विगत र वर्तमानका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दा यी पक्षहरूको चर्चा अनिवार्य हुने गर्छ।
मान्छेले आफ्नो विवेकले देखेको गर्छ, विवेक भए। नभए संजोगवश राम्रो काम गरिदिए पनि पुग्छ। केही नगर्ने र गर्न नसक्नेका बारेमा केही भन्नु छैन। यसो गर्नु कसैको अस्तित्वमा सिधै धावा बोलेको भनी परिभाषा हुनसक्छ। कुनै चुनौतिबिना अरूको आडमा आफ्नो बर्चस्व कायम राख्न खोज्नेहरूका बारेमा पनि केही भन्नु छैन। त्यस्ता मानिसहरूको मूल्य छैन वा कुनै संघर्षरत परिवेशमा स्थान छैन भन्ने पर्याप्त आधार र अधिकार पनि छैन। गर्न चाहने र सक्नेले गरेर नचाहने र नसक्नेलाई पनि हतेर्दै लिएर हिँड्नु पर्ने वाध्यता प्रगतिको प्रमुख वाधक भएता पनि हामी सबैले यसलाई आत्मसात गरेका छौँ।
मलाई लागिरहेको डर वा भइरहेको अनुभुति चाहिँ के हो भने हामी यो देशमा कहिँ न कहिँ अल्मलिएका छौँ। व्यक्तिगत स्वतन्त्रता र अधिकारका कुरा आफ्ना ठाउँमा छन् तर घर संक्रमणवाट गुज्रिरहेको बेला आफ्नो कामभन्दा पनि सस्तो नाम अनि बाहिर फल्न सक्ने दामतिर ध्यान भएका मानिसहरूको सङ्ख्या बढ्दै जाला भन्ने चिन्ता विवेक हुनेहरूलाई लाग्नु स्वाभाविक हो। दायीत्वको सूची कागजमा मात्र चेपेर त्यसको काममा अभिव्यक्ति दिन नचाहनेहरू, काम गर्नेहरूका खुट्टा तानी सधैँ आफू जिम्मेवार ठाउँ ओगट्ने तर कामलाई अगाडि बढ्न नदिनेहरू अर्थात प्रगतिमा हरदम रुकावट खडा गर्ने तत्वहरूबाट होसियार रहन मेरो आग्रह र त्यसमा सफलता मिलोस् भन्ने सबै पाठकहरूलाई शुभकामना।
I think it was specially for us.Thanks
Comment by lamanigma — October 15, 2011 @ 6:54 pm |